म मरेपछि, मेरा यी निथ्रुक बन्द आँखाहरूले

तिमीसँगै बिताएका ती स्वर्णिम पलहरू गुनिरहनेछन्

थाहा छैन, कस्तो होला त्यो अन्तिम प्रहर,

जब मेरो निर्जीव देहलाई आफन्तको भीडले घेरिरहनेछ,

तब म लाचार भई यही आँगनको कुनै कुनाबाट

मात्र तिम्रो आभास खोजिरहनेछु,

मेरा यी निश्चल र चिसिएका अंगहरूले

तिम्रै न्यानो स्पर्शको तिर्सना गरिरहनेछन्,

तिमी छेउमै हुनेछौ वा टाढा, म जान्दिनँ,

तर मेरो रिक्तताले मात्र तिम्रै सामीप्य रोजिरहनेछ,

पञ्चतत्वमा विलिन हुँदै गर्दा पनि मेरो अस्तुले,

तिम्रै मायाको न्यानोपन खोजिरहनेछ।

मलामीको त्यो स्तब्ध भिडमा हराइरहँदा,

बन्द आँखाहरूले भन्दा बढी मेरो आत्माले तिमीलाई पुकार्नेछ,

जसरी चिताको अग्निमा मेरो शरीर दनदनी जल्नेछ,

त्यसरी नै धुवाँका मुस्लोहरूसँगै मेरा रहरहरू उडेर जानेछन्,

थाहा छैन, यो ओठको मुस्कान कतिञ्जेल टिक्ने हो?

थाहा छैन, यो सासको डोरी कहिले चुँडिने हो?

बाहिरबाट हेर्दा शान्त देखिए पनि, भित्र एउटा गहिरो चिन्ता छ

के म मरेपछि,

मेरो मस्तिष्कका यी गहिरा तहहरू,

ती असह्य पीडा र तिम्रा यादका सोचहरू

साँच्चै खरानी भएर सकिएलान् त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 min