आमा,
तिमी माया मात्र होइन,
मेरो अस्तित्वलाई थामेर राख्ने अदृश्य हात हौ
तिमी न्यानो घामजस्तै,
तिमी अडिग पहाडजस्तै,
र म,
तिमी नजिक हुँदा मात्रै, बाँचेको जस्तो लाग्ने एउटा सानो नदी।
मेरो गल्ती, मेरो डर, मेरो भित्री चोट
सबैको अन्तिम आधार तिमी नै, आमा
म पग्लिएर खसेपछि
मलाई फेरि मानिस बनाइदिने शक्ति
तिमीसग मात्र छ
तर
तिम्रो आँखाबाट झरेको एक थोपो आँसु
मेरो लागि साधारण पानी होइन
यो त एक प्रकारको भूकम्प जस्तै हो,
जसले मेरो भित्रको संसार
एकाएक खण्ड खण्ड पारिदिन्छ
तिम्रो अनुहारमा परेको
हल्का छायाँले पनि
मेरो मुटुमा ठूलो आँधी उठाउँछ
आमा,
तिमीलाई दुखेको कल्पना गर्दा पनि
मेरो मन रोइरहेको हुन्छ
तिमीलाई पिडामा देख्नु
त्यो त मर्नुभन्दा पनि
अझ हजार गुणा कडा सजाय जस्तो लाग्छ
मेरा आँखा,मन र मस्तिष्कले सहन सक्दैनन्
त्यसअघि नै, म अरू नै संसारतिर
सागरजस्तै गहिरो मौनतामा डुबिसकसेको हुन्छु होला।
रातको सन्नाटा चिर्दै
तिमी भनेको त्यो वाक्य बज्छ
“म बिरामी भए भने फर्केर आइज है छोरा…”
आमा,
म हरेक पल तिम्रो वरिपरि हुन्छु
म सधैं तिम्रो छेउमै हुन्छु।
मेरा आँखा, मेरो सास, मेरो हाड–मांस
सबै तिमीमै अडिएको हुन्छ।
म तिमीबाट टाढा जान सक्दिन
तिमीलाई टुक्रिन त परै जाओस्
तिमी दुःखी भएको देख्नु पनि सहनसकिँदैन
किनकि तिमी नै त हौ
जहाँ मेरो मन थाकेर आइपुग्ने ठाउँ
जहाँ मेरो चिसो आत्माले न्यानो पाउँछ
आमा…
मेरो इच्छा धेरै छैन,
सिर्फ् यो चाहन्छु
बुबाको छाती गर्वले ढुकढुक धड्कियोस्,
तिमीको अनुहारमा
सधैं उज्यालो बिहानझैँ मुस्कान फुलिरहोस्,
र तिमीले हेरिरहिने त्यो नरम नजर
कहिल्यै धमिलो नहोस्।
तिम्रो खुशी,मेरो पूरा जीवन हो
मेरो संसार जित्ने हौसला हो।
